बारा, असार २७ गते ।
जीतपुरसिमरा उपमहानगरपालिकाले आफ्नो क्षेत्रका शिक्षकहरूलाई सम्मान गरेको छ । उपमहानगरले शिक्षण क्षेत्रबाट अवकाश प्राप्त भएका तथा वढुवा भएका शिक्षकहरूलाई सम्मान गरेको हो ।
जीतपुरसिमरा उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाले बुधबार एक कार्यक्रमकाबिच २०७९/८० मा अवकाश भएका तथा वढुवा भएका शिक्षकलाई सम्मान गरेको हो ।
शिक्षकहरूको मनोबल बढाउन उपमहानगरले सम्मान कार्यक्रमको आयोजना गर्दै सम्मान स्वरूप प्रमाणपत्रसहित दोसल्ला ओढाएर सम्मान गरेको थियो । उपमहानगरले ७ जना अवकाशप्राप्त शिक्षक र १७ जना वढुवा भएका शिक्षकहरूलाई सम्मान गरेको शिक्षा, युवा तथा खेलकुद महाशाखा जीतपुरसिमराका प्रमुख शिवजी प्रसादले बताउनु भयो ।
कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोला अधिकारीले अवकाशप्राप्त शिक्षकहरूलाई सुखद जिवनको कामना गर्दै वढुवा भएका शिक्षकहरूलाई झन इमानदार भएर शिक्षण क्षेत्रमा अगाडि बढ्न र जीतपुरसिमरा भित्रका शिक्षा क्षेत्रलाई थप राम्रो बनाउन आग्रह गरेका थिए ।
यसअघि मंगलबार जीतपुरसिमरा उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्र भएको आधारभुत तह कक्षा ८ को परिक्षामा उत्कृष्ट नतिजा ल्याउने सामुदायिक बिद्यालयका ४ जना र संस्थागत बिद्यालयका ५ जना बिद्यार्थीलाई सम्मान गरेको थियो ।