चितवन, वैशाख ४
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना निजी सवारी चालक घरको छतबाट खसेको विषयलाई राजनीतिकरण नगर्न अनुरोध गरेका छन् ।
आज दिउँसो सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले भनेका छन्, ‘आज बिहान प्रिय शम्भु भाइ (मेरो गाडी चालक) छत बाट खसेर दुर्घटनामा पर्नु भयो । सीएमसीमा उहाँ उपचाररत हुनुहुन्छ । बिहानैदेखि निरन्तर र भर्खरै पनि मैले चिकित्सकसँग परामर्श गरेअनुसार भगवानको कृपाले उहाँको स्वास्थ्य अवस्था बिहानको भन्दा सुधारिएको छ, स्थिर छ । यो घटनाको प्रहरीले अनुसन्धान गरिरहेकाले आफूले धेरै नबोल्ने उनले बताएका छन् ।
‘म नेताभन्दा पहिले मानिस हँु । म पनि थाक्छु, गल्छु । मेरा आँखामा पनि आशु आउँछन् । बिन्ती छ, यस्तो चोट लागेको बेला सहानुभूति र प्रार्थनाको साटो नुन चुक बोकेर नआउनु होला । स्तरहीन बनेर राजनीतिकरण नगर्नुहोला,’ उनले लेखेका छन्, ‘सक्नुहुन्छ भने मलाइ सहने शक्ति मात्रै दिनुहोला । मेरो सहयोगी, मेरो साथी, मेरो भाइ शम्भु अस्पतालको शैयामा संघर्ष गरिरहेको छ । उसका लागि प्रार्थना गरिदिनु होला । स्वास्थ्य लाभको कामना गरिदिनु होला । राजनीति गर्न सिङ्गो जीवन छ, यस्तो संवेदनशील घडीमा मौका नछोप्नु होला ।’
लामिछानेका ड्राइभर छतबाट खसेको घटनाबारे चितवन प्रहरीले अहिले अनुसन्धान गरिरहेको छ । अनुसन्धानका लागि लामिछानेका ड्राइभर दिलबहादुर थापासँग आइतबार राति सँगै सुतेका रास्वपा महामन्त्री मुकुल ढकालका ड्राइभर कालुराम राजवंशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ‘सोधपुछका लागि कार्यालयमा बोलाएको चितवन प्रहरी प्रमुख एसपी रामेश्वर कार्कीले भने । यसअघि राजवंशीले सँगै सुतेका थापा कसरी र कतिबेला खसे भन्नेबारे आफूले केही थाहा नपाएको र अरूले हल्ला गरेपछि ब्युँझिएको बताएका थिए ।
सोमबार बिहान ४ बजेतिर भरतपुर–११ स्थित लामिछानेको घरको छतबाट खसेका थापालाई पुरानो मेडिकल कलेज भरतपुरमा भर्ना गरिएको छ । एसपी कार्कीका अनुसार तीन तलामाथिबाट खसेका थापाको घाँटीको हड्डी भाँचिएको छ । उनी अहिले अचेत छन् । अहिलेसम्म थापा कसरी खसे भन्ने कारण खुल्न नसकेको उनले बताए ।