बारा २८ बैशाख /
सञ्चार उद्यमी तथा रेड टेलिभिजनकी संस्थापिका स्वर्गीय रामा यादव को पाँचौँ पुण्यतिथिको अवसरमा प्रदान गरिने “रामा यादव स्मृति पत्रकारिता पुरस्कार २०८१–०८२” बाट बारा र धनुषाका दुई महिला पत्रकार सम्मानित भएका छन् ।पुरस्कारबाट बाराकी शारदा पोख्रेल तथा धनुषाकी चान्दनी झा लाई सम्मान गरिएको हो ।

रामा देवी स्मृति प्रतिष्ठान द्वारा सोमबार गौरस्थित जिल्ला समन्वय समिति रौतहटको सभाकक्षमा आयोजित कार्यक्रममा दुवै पत्रकारलाई जनही २६ हजार रुपैयाँ नगद, कदरपत्र तथा दोसल्लासहित सम्मान प्रदान गरिएको थियो ।कार्यक्रम जयप्रकाश यादव को अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा मिडिया काउन्सिल मधेश प्रदेश का कार्यवाहक अध्यक्ष सुरेश यादव, जिल्ला समन्वय समिति रौतहटका सभापति रामअयोध्या प्रसाद यादव, प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल, नेपाल पत्रकार महासंघ रौतहट शाखा का अध्यक्ष संजय कार्की लगायतले महिला पत्रकारको क्षमता अभिवृद्धि र पत्रकारिता क्षेत्रमा सकारात्मक ऊर्जा प्रवाह गर्न यस्ता पुरस्कार प्रभावकारी हुने धारणा व्यक्त गरे ।
सम्मानित पत्रकारद्वयले पत्रकारिता यात्रामा अनेक चुनौती र कठिनाइ सामना गर्नुपरे पनि निरन्तर पेशामा सक्रिय रहँदा प्राप्त भएको सम्मानले थप प्रेरणा र उत्साह मिलेको प्रतिक्रिया दिएका छन् ।



