रञ्जन यादब /बारा ३० चैत्र
भारतको महावाणिज्य दूतावास वीरगंजको पहलमा बारा जिल्लाको प्रसौनी गाउँपालिका वडा नं.२ स्थित श्री बंगा साह माध्यमिक विद्यालयमा विद्यालय तथा पुस्तकालय भवन निर्माण कार्य सुरु गरिएको छ ।सोमबार आयोजित शिलान्यास कार्यक्रममा महावाणिज्यदूत देवी सहाय मीना र गाउँपालिकाका अध्यक्ष विनोद प्रसाद जैसवाल ले संयुक्त रूपमा परियोजनाको शुभारम्भ गरेका हुन्।

उक्त भवन भारत सरकारको करिब ३ करोड ३२ लाख नेपाली रुपैयाँ आर्थिक सहयोगमा निर्माण हुन लागेको हो। परियोजना उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत सञ्चालन गरिएको हो। निर्माण हुने नयाँ भवनमा आधुनिक कक्षाकोठा, पुस्तकालय, कम्प्युटर तथा विज्ञान प्रयोगशाला, क्यान्टिन र शौचालयलगायतका आवश्यक पूर्वाधार समावेश गरिनेछ। साथै, फर्निचर तथा शैक्षिक सामग्रीको समेत व्यवस्था गरिने जनाइएको छ।

स्थानीय जनप्रतिनिधि तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूले भारत सरकारको सहयोगप्रति आभार व्यक्त गर्दै यस परियोजनाले विद्यार्थीहरूका लागि सुरक्षित र अनुकूल शैक्षिक वातावरण सिर्जना गर्ने विश्वास व्यक्त गरेका छन्। कार्यक्रममा बोल्दै वक्ताहरूले नेपाल–भारतबीचको सहकार्य शिक्षा लगायत विभिन्न क्षेत्रमा निरन्तर विस्तार हुँदै गएको उल्लेख गर्दै यस्ता परियोजनाले स्थानीय विकासमा महत्वपूर्ण योगदान पु¥याउने बताएका छन्।

