रञ्जन यादब /बारा २९ चैत्र
श्री नेपाल राष्ट्रिय नमुना माध्यमिक बिद्यालय बकुलियाले आफनो आर्थिक वर्ष २०८१÷०८२ को सामाजिक परीक्षण तथा सर्वपक्षीय छलफल कार्यक्रम सम्पन्न गरेको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.५ मा रहेको उक्त बिद्यालयको पार्दशिता, उत्तरदायित्व र शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा सरोकारवाला पक्षहरूको सहभागिता रहेको थियो।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका कृष्ण प्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपेन्द्र चौधरीसहित सम्पूर्ण समितिका सदस्यहरू, शिक्षक, अभिभावक, शिक्षा प्रेमी तथा युवा समाजसेवीहरूको सक्रिय उपस्थिति रहेको थियो। कार्यक्रम सञ्चालन बिद्यालयका प्रधानध्यापक धनञ्जय गौतमले गरेका थिए भने वक्ताहरू शिक्षक कालिका प्रसाद ढकाल, समाजसेवी डमरु कामी र ब्यवस्थापन समितीका राजेन्द्र प्रसाद चौधरीले विद्यालयको समग्र शैक्षिक, आर्थिक तथा प्रशासनिक अवस्थाबारे आ–आफ्ना धारणा राखेका थिए।
वक्ताहरूले विद्यालयको गुणस्तर सुधार, पारदर्शी आर्थिक व्यवस्थापन, अनुशासन कायम गर्ने तथा विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि गर्ने विषयमा महत्वपूर्ण सुझावहरू प्रस्तुत गरेका थिए। छलफलका क्रममा विद्यालयको आय–व्यय, शैक्षिक उपलब्धि, भौतिक पूर्वाधार, शिक्षक व्यवस्थापन लगायतका विषयमा विस्तृत समीक्षा गरिएको थियो। सहभागीहरूले विद्यालयलाई अझ प्रभावकारी र नमुना शैक्षिक संस्थाको रूपमा विकास गर्न सामूहिक प्रयास आवश्यक रहेकोमा जोड दिएका थिए।कार्यक्रममार्फत विद्यालयको आर्थिक वर्ष २०८१÷०८२ को सामाजिक परीक्षण औपचारिक रूपमा सम्पन्न गरिएको विद्यालयले जनाएको छ।

