रञ्जन यादव /बारा, २७ चैत्र
बाराको सिमरामा आयोजित एक रक्तदान कार्यक्रममा १३७ जनाले उत्साहपूर्वक रक्तदान गरेका छन्। जेनजी युथ नेपाल, बारा द्वारा शुक्रबार सिमरा बिजनेस सेन्टर परिसरमा आयोजित उक्त कार्यक्रममा १६ जना महिला र १२१ जना पुरुष सहभागी भएका थिए। कार्यक्रममा युवाहरूको सक्रिय र उल्लेखनीय उपस्थिति देखिएको आयोजकले जनाएको छ। साथै, इलाका प्रहरी कार्यालय सिमराले पनि समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सहभागिता जनाउँदै कार्यक्रमलाई सहयोग गरेको थियो। नेपाल रेडक्रस सोसाइटी, पर्साले प्राविधिक सहयोग उपलब्ध गराएको उक्त कार्यक्रम जेनजी युथ नेपाल, बाराका अध्यक्ष सम्राट उपाध्यायको अध्यक्षतामा सम्पन्न भएको हो। आयोजकका अनुसार यस्ता कार्यक्रमले रगत अभाव न्यूनीकरणमा सहयोग पुग्नुका साथै युवामा सामाजिक उत्तरदायित्वको भावना विकास गर्ने विश्वास लिइएको छ।

