रञ्जन यादब /बारा
तेस्रो जीतपुर–सिमरा क्रिकेट कपअन्तर्गत सोमबार सम्पन्न खेलमा बाराले पर्साविरुद्ध सान्त्वना जित निकालेको छ। सेज क्रिकेट मैदान मा भएको प्रतिस्पर्धामा बाराले ६ विकेटको जित हात पार्दै प्रतियोगितामा आफ्नो अन्तिम खेल जितका साथ टुंग्याएको हो। पर्साले प्रस्तुत गरेको १३१ रनको लक्ष्य पछ्याएको बाराले १९.२ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य भेट्टायो। बाराको जितमा साहिल पटेलले उत्कृष्ट प्रदर्शन गर्दै अविजित ४६ रन बनाए। उनले ३८ बलमा ६ चौका र एक छक्का प्रहार गरे। महमद साहिद अलीले पनि ३१ रनमा अविजित रहँदै जितमा महत्वपूर्ण योगदान दिए। साथै साबजान मन्सुरीले २८ तथा रविकुमार साहले १७ रन जोडे।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पर्साले २० ओभरमा ७ विकेट गुमाउँदै १३० रन बनाएको थियो। पर्साका सम्साद मन्सुरीले सर्वाधिक २७ रन बनाउँदा अकिब अंसारीले २४ रन जोडे। अन्य खेलाडीहरूमा साजेद मन्सुरीले १७, हासिम अंसारीले १६, सफवान अलीले १५ र आदर्श भण्डारीले ११ रन बनाए।बलिङतर्फ बाराका करण साह तेलीले ३ विकेट लिएर उत्कृष्ट प्रदर्शन गरे। खिलराज सर्राफ, सिराज हवारी र रोहन साहले समान एक–एक विकेट हात पारे। पर्साका नितेश पटेल, वशिम मन्सुरी, अभय यादव र अरमान शेखले पनि समान एक–एक विकेट लिए।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका साहिल पटेल ‘प्लेयर अफ द म्याच’ घोषित भए। उनलाई पुरस्कार प्रेम बराल ले प्रदान गरेका थिए भने जनकपुर बोल्ट्स का सन्तोष दाहालले जर्सी हस्तान्तरण गरे। प्रतियोगितामा समूह ‘ए’ बाट सर्लाही जिल्ला क्रिकेट संघ फाइनलमा पुगिसकेको छ। अब मंगलबारदेखि समूह ‘बी’ का खेल सुरु हुनेछन्, जसमा जीतपुरसिमरा क्रिकेट क्लब, मकवानपुर र चितवनबीच प्रतिस्पर्धा हुनेछ। यस समूहको विजेता टोलीले सर्लाहीसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। चैत २८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले दुई लाख रुपैयाँ तथा उपविजेताले एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिता जीतपुरसिमरा उपमहानगरपालिका को मुख्य सहयोगमा आयोजना भइरहेको छ।

