जीतपुरसिमरा नगर अस्पतालमा पाठेघरको मुखको क्यान्सर परीक्षण सेवा सुरु, महिलालाई निःशुल्क सुविधा

रञ्जन यादब /बारा

महिलाहरूको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै जीतपुरसिमरा उपमहानगरपालिकाअन्तर्गत रहेको जीतपुरसिमरा नगर अस्पतालले पाठेघरको मुखको क्यान्सर पहिचान गर्न लक्षित निःशुल्क स्क्रिनिङसेवा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ।अस्पताल प्रशासनका अनुसार प्रत्येक महिनाको दोस्रो र चौथो शुक्रबार सञ्चालन हुने यस सेवाबाट विशेषगरी ३० वर्षभन्दा माथिका महिलाहरू लाभान्वित हुने अपेक्षा गरिएको छ।

पछिल्लो समय महिलाहरूमा पाठेघरको मुखको क्यान्सरको जोखिम बढ्दै गइरहेको सन्दर्भमा प्रारम्भिक परीक्षणमार्फत समयमै रोग पहिचान र उपचार सुनिश्चित गर्ने उद्देश्यले सेवा सुरु गरिएको अस्पतालले जनाएको छ।यो सेवा पूर्ण रूपमा निःशुल्क रहेको अस्पतालले स्पष्ट पारेको छ। परीक्षणका लागि कुनै अग्रिम अपोइन्टमेन्ट आवश्यक नपर्ने भएकाले सेवाग्राहीहरूले तोकिएको समयमा अस्पतालमै पुगेर सहज रूपमा सेवा लिन सक्ने व्यवस्था मिलाइएको छ। यसले ग्रामीण तथा विपन्न वर्गका महिलाहरूलाई समेत स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने विश्वास गरिएको छ।स्वास्थ्यकर्मीहरूका अनुसार ख्क्ष्ब् स्क्रिनिङ विधि सरल, छिटो र प्रभावकारी भएकाले क्यान्सरको प्रारम्भिक लक्षण पत्ता लगाउन महत्वपूर्ण भूमिका खेल्छ।

प्रारम्भिक चरणमै रोग पहिचान भएमा उपचार सफल हुने सम्भावना उच्च हुने हुँदा यस सेवाले दीर्घकालीन रूपमा महिलाहरूको जीवनरक्षा गर्न योगदान पु¥याउने अपेक्षा गरिएको छ।अस्पतालले परीक्षणपछि आवश्यक देखिएमा थप परीक्षण, उपचार तथा परामर्श सेवा पनि उपलब्ध गराउने जनाएको छ। साथै, महिलाहरूलाई नियमित स्वास्थ्य परीक्षण गराउन, सचेत रहन र लक्षण देखिनुअघि नै जाँच गराउन आग्रह गरिएको छ।

उक्त सेवा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ। स्थानीय तहले स्वास्थ्य सेवा सुदृढीकरणमा चालेको यो कदमलाई महिलाको स्वास्थ्य सुधारतर्फ महत्वपूर्ण पहलका रूपमा लिइएको छ।अस्पताल प्रशासनले सबै लक्षित उमेर समूहका महिलाहरूलाई ढिला नगरी सेवा लिन आह्वान गर्दै “समयमै परीक्षण, सुरक्षित भविष्य” भन्ने सन्देश पनि प्रवाह गरेको छ।