hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibombets10nakitbahisGrandpashabetenbetqqmamibetmeritkingjojobet

जीतपुरसिमरामा पाँचौँ राष्ट्रपति रनिङ शिल्ड भव्य सम्पन्न, डुमरवाना चौथोपटक च्याम्पियन

रञ्जन यादव/बारा
बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा आयोजित पाँचौँ जीतपुरसिमरा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। चार दिनसम्म सञ्चालन भएको प्रतियोगितामा राष्ट्रिय विभूति शिक्षा सामुदायिक सदन डुमरवाना ले उत्कृष्ट प्रदर्शन गर्दै लगातार चौथोपटक उपाधि जित्न सफल भएको छ।
मंगलबारदेखि सुरु भएको प्रतियोगिता नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिमराको प्राङ्गणमा शुक्रबार सम्पन्न भएको हो। जीतपुरसिमरा उपमहानगरपालिकाको आयोजना तथा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिमराको व्यवस्थापनमा सञ्चालन भएको प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थी खेलाडीबीच कडा प्रतिस्पर्धा देखिएको थियो।
प्रतियोगितामा डुमरवाना स्थित राष्ट्रिय विभूति शिक्षा सामुदायिक सदनले २३ स्वर्ण, ९ रजत र ४ कास्य गरी कुल ३६ पदक जित्दै उपाधि आफ्नो नाममा गरेको हो। त्यस्तै नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालय बकुलियाले ७ स्वर्ण, ५ रजत र २ कास्यसहित १४ पदक जित्दै उपविजेतामा चित्त बुझायो भने सेन्ट अल्फानस बोर्डिङ स्कूल १३ पदकसहित तेस्रो स्थानमा रह्यो।
समापन समारोहमा मधेश प्रदेशसभा सदस्य देवनारायण चौधरी र जीतपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेलले विजेता तथा उपविजेता टोलीलाई शिल्ड, मेडल, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गर्नुभयो।
सो अवसरमा बोल्दै प्रदेशसभा सदस्य चौधरीले खेलकुदले विद्यार्थीहरूमा अनुशासन, आत्मविश्वास र प्रतिस्पर्धात्मक भावना विकास गर्ने बताउँदै उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई बधाई दिनुभयो। उहाँले हार–जित खेलको स्वाभाविक पक्ष भएकाले आगामी प्रतियोगितामा अझ उत्कृष्ट प्रदर्शन गर्न निरन्तर अभ्यास गर्न विद्यार्थीहरूलाई सुझाव दिनुभयो।
नगरप्रमुख राजन पौडेलले विद्यालय तहबाटै खेल प्रतिभा पहिचान र विकास गर्न यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै खेलकुद क्षेत्रको विकासका लागि उपमहानगरपालिकाले आगामी दिनमा थप कार्यक्रम र सहयोग अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
यसैबीच, नेरा आवि नितनपुरका प्रधानाध्यापक जयप्रकाश रायले आर्थिक अभावका कारण यस वर्ष धेरै सामुदायिक विद्यालयहरू प्रतियोगितामा सहभागी हुन नसकेको गुनासो गर्नुभयो। आगामी छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सामुदायिक विद्यालयहरूको सहभागिता बढाउन उपमहानगरपालिकाले आर्थिक सहयोग उपलब्ध गराउनुपर्ने उहाँको भनाइ थियो।
प्रतियोगितामा उपमहानगरभित्रका ३७ विद्यालयका १ हजार २ सय ७३ विद्यार्थी खेलाडीले सहभागिता जनाएका थिए। चार दिनसम्म सञ्चालन भएको प्रतियोगितामा तेक्वान्दो, कराते, उसु जस्ता मार्शल आर्ट्ससँगै भलिबल, एथ्लेटिक्स र कवड्डी लगायतका खेलहरू समावेश गरिएको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिमराका प्रधानाध्यापक शंकर आचार्यले जानकारी दिनुभयो।
आयोजकका अनुसार यस प्रतियोगिताले विद्यार्थीहरूमा खेलकुदप्रतिको रुचि बढाउनुका साथै स्थानीय स्तरमै नयाँ खेल प्रतिभा पहिचान गर्न महत्वपूर्ण योगदान पुगेको छ। कार्यक्रममा विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।