नेकपाले प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै संगठन सुदृढीकरण र चुनावी तयारीलाई तीव्र

रञ्जन यादब /बारा

बारा जिल्लाको प्रसौनी गाउँपालिकामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै संगठन सुदृढीकरण र चुनावी तयारीलाई तीव्र बनाएको छ। सोही क्रममा बारा क्षेत्र नं.–४ अन्तर्गत प्रसौनी गाउँपालिका–६ भलुहीमा अगुवा कार्यकर्ता बैठक सम्पन्न गरिएको हो। बैठकमा नेकपा बारा क्षेत्र–४ का प्रतिनिधि सभा उम्मेदवार अजय  कुशवाहाले आगामी निर्वाचनमा आफू परिवर्तनको संवाहकका रूपमा जनताको बीचमा जाने स्पष्ट पारे। प्रसौनी गाउँपालिका वडा नं.–६ का स्थायी बासिन्दा तथा राष्ट्रिप बास्केटबल खेलाडीसमेत रहेका कुशवाहाले नयाँ पुस्ता (जेन–जेड) को प्रतिनिधित्व गर्दै युवामैत्री, पारदर्शी र उत्तरदायी राजनीति अघि बढाउने प्रतिबद्धता जनाए। उनले शिक्षा, रोजगारी, स्वास्थ्य, खेलकुद र स्थानीय विकासलाई प्राथमिकतामा राखेर जनताको मुद्दा संसदसम्म पु¥याउने बताए।

कुशवाहाले विगतका निर्वाचनमा जनताले भोग्नुपरेका निराशा र समस्या दोहोरिन नदिन नेकपा जनताको भरोसायोग्य विकल्प बनेर अघि बढ्ने दाबी गरे। उनले पार्टी कार्यकर्तालाई घर–घरमा पुगेर संगठन विस्तार गर्न र जनताको समस्या सुन्न विशेष जोड दिए।बैठकमा विभिन्न स्थानीय तहका प्रतिनिधिहरूले आ–आफ्नो पालिकाको समसामयिक अवस्था, विकासका अवरोध, रोजगारीको अभाव, युवा पलायन, कृषि, शिक्षा र आधारभूत सेवासँग सम्बन्धित समस्या उठाएका थिए।

परवानीपुर गाउँपालिकाका लालबहादुर पटेल, प्रसौनी गाउँपालिकाका विजय यादव र लक्ष्मी महतो, विश्रामपुर गाउँपालिकाका लवकुश बैठा तथा जितपुर–सिमरा उपमहानगरपालिकाका प्रेम बरालले स्थानीय आवश्यकताअनुसार नीति तथा कार्यक्रम तय गर्नुपर्ने सुझाव दिए।यस अवसरमा नेकपा केन्द्रीय सदस्य क्षेत्र बहादुर श्रेष्ठको नेतृत्वमा बारा क्षेत्र–४ का लागि ५०० सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको घोषणा गरिएको छ। समितिले आगामी दिनमा चुनावी रणनीति निर्माण, जनपरिचालन, प्रचार–प्रसार र संगठन विस्तारको जिम्मेवारी सम्हाल्ने जनाइएको छ। कार्यक्रममा संविधानसभा सदस्य दिलमाया धामी, नेता दिनेश राई, क्षेत्र बहादुर श्रेष्ठ, शिला खनाल, मालती कुशवाहा, सर्मिला राई, भरत खड्का, रामचन्द्र प्यासी, हरि प्रसाद चौलागाईं, कमला अधिकारी, मुकेश साहलगायत पार्टीका केन्द्रीय, प्रदेश, जिल्ला तथा स्थानीय तहका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

बैठककै अवसरमा आर्थिक समिति, जनपरिचालन समिति, प्रचार–प्रसार समिति लगायत विभिन्न उपसमितिहरू गठन गरिएको थियो । उनका अनुसार ती समितिहरूले निर्वाचन केन्द्रित गतिविधिलाई व्यवस्थित र प्रभावकारी बनाउनेछन्। नेकपाले बारा क्षेत्र–४ मा युवाको सहभागिता बढाउँदै संगठनलाई जनमुखी बनाउने र आगामी निर्वाचनमा सशक्त प्रतिस्पर्धा गर्ने रणनीतिका साथ अभियानलाई अगाडि बढाएको जनाएको छ।