रञ्जन यादब /बारा
तराई क्षेत्रमा लागेको अत्यधिक बाक्लो हुस्सुका कारण बारास्थित सिमरा विमानस्थल शुक्रबार बिहानैदेखि ठप्प भएको छ । बिहानैदेखि मौसममा सुधार नआउँदा र ’भिजिबिलिटी’ अत्यन्तै कम हुँदा विमानस्थलबाट हुने उडान र अवतरण दुवै कार्य पूर्ण रूपमा प्रभावित भएको हो ।विमानस्थल सञ्चालन हुन नसक्दा सिमरा–काठमाडौं रुटका सबै उडानहरू रोकिएका छन् ।
काठमाडौंबाट सबैभन्दा छोटो दूरीको हवाई मार्गका रूपमा रहेको यस विमानस्थलबाट निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले दैनिक पाँचवटा उडान भर्दै आएको छ । तर, प्रतिकूल मौसमका कारण शुक्रबार बिहानका लागि तय भएका सबै उडानहरू हालसम्म हुन सकेका छैनन् ।बुद्ध एयर सिमराका प्रमुख सुरेश रेग्मीका अनुसार बिहानैदेखि लागेको कुहिरो अझै नहटेकाले उडान तालिकाहरू प्रभावित भएका हुन् ।
विमानस्थलमा जहाज अवतरणका लागि आवश्यक पर्ने न्यूनतम दृश्यता समेत नभएका कारण उडानमा ढिलाइ भएको र यसबाट यात्रुहरूले सास्ती व्यहोर्नु परेको छ । मौसममा सुधार आउने बित्तिकै उडान पुनः सुचारु गर्ने तयारी रहे तापनि तत्कालका लागि भने सबै सेवा अवरुद्ध रहेको रेग्मीले जानकारी दिनुभयो ।हिउँदको समयमा तराईका जिल्लाहरूमा लाग्ने बाक्लो हुस्सुले गर्दा सिमरासहित अन्य विमानस्थलहरूमा पनि बेलाबेलामा उडान प्रभावित हुने गरेको छ । उडान अवरुद्ध भएपछि विमानस्थलमा यात्रुहरूको चाप बढेको छ भने कतिपय यात्रुहरू वैकल्पिक मार्ग प्रयोग गरी गन्तव्यतर्फ लाग्ने तयारीमा देखिन्छन् ।

