रञ्जन यादब /बारा
बारा जिल्लाका जेन्जी अगुवाहरूले भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङसँग भेट गरी जिल्लाको समग्र भौतिक विकासका लागि आठ बुँदे मागसमेतको ज्ञापनपत्र बुझाएका छन्।
जिल्लामा प्रमुख सडक तथा संरचनाको निर्माण कार्य ढिलाइ भइरहेको, कतिपय स्थानमा काम सुरु नै नहुँदा जनजीवन प्रभावित भइरहेको भन्दै उनीहरूले तत्काल सरकारी ध्यानाकर्षण गराएको बारा जिल्ला जेन्जी अगुवा सौरभ चौँगाईले जानकारी दिए ।ज्ञापनपत्रमा मानवत–मटिअर्वा सडकखण्डअन्तर्गत कलैयाको तीन किलोमिटर सडक नियत समयमै निर्माण सम्पन्न हुनुपर्ने, मोतिसरदेखि फेटा चौकसम्मको तीन किलोमिटर सडक तत्काल बनाइनुपर्ने तथा बसतपुर–कबहिगोठ र बडहर्वादेखि सिमरा जोड्ने सडक समेत अविलम्ब निर्माण थाल्नुपर्ने माग राखिएको छ। यस्तै, हरनहिया–टेढाकट्टी पुरानो अलाइनमेन्टलाई नै मुख्य राजमार्गका रूपमा निर्माण गर्नुपर्ने र टेढाकट्टी गाउँभित्र पर्ने बाटोलाई लिंक रोडको रूपमा मात्र कायम गर्न जेन्जी अगुवाहरूले आग्रह गरेका छन्।

त्यसैगरी, कोल्हवीलाई बारा सदरमुकाम कलैयासँग जोड्ने सडकलाई प्राथमिकतामा राखी छिटो निर्माण गरिने व्यवस्था मिलाउन, पथलैया–निजगढ सडकखण्डमा पर्ने दुधौरा नदीमाथिको पुल तत्काल निर्माण गर्नुपर्ने तथा यातायात कार्यालयहरूमा भइरहेको भनिएको भ्रष्टाचार अन्त्य गरी सेवा प्रवाह पारदर्शी र व्यवस्थित बनाउनुपर्ने मागसमेत ज्ञापनपत्रमा उल्लेख छ।जेन्जी अगुवाहरूले बारा जिल्लामा विकासका आधारभूत आवश्यकता वर्षौँदेखि अधुरै रहेको भन्दै मन्त्री घिसिङसँग विशेष पहल लिएर काम अघि बढाउन अनुरोध गरेका छन्।मन्त्री घिसिङले उठाइएका विषयहरू महत्त्वपूर्ण भएको उल्लेख गर्दै आवश्यक प्रक्रिया अघि बढाइने आश्वासन दिएको बताइएको छ।

