औराहामा कृयापुत्री भवनको शिलान्यास, १५ लाखको लागतमा निर्माण कार्य सुरु

रञ्जन यादब /बारा

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.४ औराहामा आवश्यक सामाजिक पूर्वाधार विकासलाई ध्यानमा राख्दै कृयापुत्री भवन निर्माण कार्य विधिवत् रूपमा सुरु गरिएको छ।वडा स्तरीय बजेट शिर्षकबाट विनियोजित रकम रु.१५ लाखको लागतमा निर्माण हुने उक्त भवनको शिलान्यास वडाध्यक्ष तथा नगर प्रवक्ता श्री भोज बहादुर खत्री(ईश्वर)ले गरेका थिए ।

शिलान्यास कार्यक्रममा वडा नं. ४ का वडा सदस्यहरू, वडा कार्यालयका कर्मचारी, स्थानीय सर्वसाधारण, सामाजिक अभियन्ताहरू तथा स्थानीय अगुवाहरुको उल्लेख्य उपस्थिति रहेको थियो।वडाध्यक्ष खत्रीका अनुसार कृयापुत्री भवन निर्माण हुनुले स्थानीय समुदायलाई शोकदुःखका क्षणमा व्यवस्थित, सुरक्षित र सहज स्थान उपलब्ध गराउनेछ।

साथै, सामाजिक तथा धार्मिक गतिविधिहरूलाई व्यवस्थित गर्न पनि यो भवन महत्वपूर्ण आधार बन्नेछ।स्थानीयवासीहरूले उक्त पहलप्रति खुशी व्यक्त गर्दै वडा कार्यालयले समुदायमुखी कार्यक्रमहरूलाई प्राथमिकताका साथ अघि बढाइरहेको बताएका छन्। निर्माण कार्य चालु आर्थिक बर्षको चैत्र २५ गते सम्ममा निर्माण गरिसक्नुपर्ने लक्ष्य राखिएको छ ।