जीतपुरसिमरा उपमहानगरका स्वास्थ्य चौकीहरूमा जीवनजल र आयरन चक्कीको अभाव

रञ्जन यादब /बारा

जीतपुरसिमरा उपमहानगरका विभिन्न स्वास्थ्य चौकीहरूमा जीवनजल र आयरन चक्कीको अभाव देखिएको छ। स्थानीयवासी र सेवाग्राहीहरू लामो समयदेखि आवश्यक औषधि नपाएपछि समस्या सार्वजनिक भएको हो। उता, उपमहानगरपालिकाको स्टोरमा भने यी समानहरूको अभाव नरहेको बताइँदै आएको छ।

उपमहानगरपालिकाको जन स्वास्थ्य प्रबबद्र्धन शाखा प्रमुख रबि भाष्करले स्टोरमा चाहिने जति जीवनजल र आयरन चक्की रहेको बताए । स्टोरमा उपलब्धता रहेको दाबी गरिए पनि आधारभूत स्वास्थ्य चौकीसम्म आपूर्ति नपुग्दा वास्तविक सेवा लिने नागरिकहरू मारमा परिरहेका छन्।जीतपुर स्वास्थ्य चौकीमा उपचारका लागि पुगेका एक सेवाग्राहीले धेरै दिनसम्म जीवनजल र आयरन चक्की नपाएपछि कुरा बाहिर आएसँगै अन्य स्वास्थ्य चौकीहरूमा पनि यस्तै समस्या रहेको पुष्टि भएको छ। जीतपुर स्वास्थ्य चौकिमा चिकित्सक(डाक्टर)सेवा प्रदान गर्ने ब्यवस्था गरिएपनि उपचार गराउँन जाने बिरामीले कहिल्यै डाक्टरको सेवा नपाउँने गरेको गुनासो गरेका छन् ।

आउँने बिरामीलाई अनमी र अहेबले नै जाँचेर र औषधी दिएर पठाउँने गरेको बिरामीहरु बताउँछन् । जीतपुर अधारभुत स्वास्थ्य चौकीका सिनियर अहेब अधिकृत प्रबिन कुमार झाले जीतपुर आधारभुत स्वास्थ्य चौँकीमा जीवनजल र आयरन चक्की नरहेको बताएका हुन् ।उनले उपमहानगरपालिकामा यसको अभाव रहेका कारण स्वास्थ्य चौँकीमा ल्याउँन नसकिएको जानकारी दिए ।

स्थानीयहरूले समयमै औषधि नपाउँदा विशेषगरी महिला, बालबालिका र दीर्घरोगीहरू बढी प्रभावित भइरहेको बताउँदै आपूर्ति प्रणालीमा देखिएको कमजोरी तत्काल सुधार गर्न उपमहानगरलाई आग्रह गरेका छन्।स्वास्थ्य चौकीहरूमा नियमित रूपमा औषधि उपलब्ध गराउने जिम्मेवारी बोकेको उपमहानगरपालिकाले भने आन्तरिक व्यवस्थापनका कारण आपूर्तिमा केही ढिलाइ हुन सक्ने टिप्पणी गरेको छ।तर सेवाग्राहीहरू भने “स्टोरमा अभाव छैन भन्ने र चौकीमा औषधि नपाइने“ विसङ्गतिलाई तत्काल समाधान गर्न सम्बन्धित निकाय गम्भीर हुनुपर्ने आवश्यकता देखिएको बताउँछन्।