रञ्जन यादब /बारा
नेपाली कांग्रेसका युवा नेता तथा जीतपुरसिमरा उपमहानगरका संस्थापक सभापति श्यामबाबु गुप्ता प्रत्यक्षतर्फ प्रतिनिधि सभा निर्वाचनका लागि बारा क्षेत्र नम्बर ४ बाट सिफारिस भएका छन्। कांग्रेस बारा क्षेत्र नं.४ का क्षेत्रीय समितिको बुधबार प्रसौनीमा बसेको बैठकले गुप्ताको नाम सिफारिस गर्ने निर्णय गरेको हो।
स्थानीय क्षेत्रमा लोकप्रिय छवि बनाएका युवा नेता गुप्ताले सामाजिक सेवाका गतिविधिमार्फत जनस्तरमा बलियो प्रभाव जमाउँदै आएका छन्। उनका निरन्तरका सामाजिक योगदान तथा नेतृत्व क्षमताले उनलाई स्थानीय समुदायमा अझै लोकप्रिय बनाएको क्षेत्रीय समितिको मूल्यांकन छ। क्षेत्रीय समिति अध्यक्ष सुनिल कुमार गुप्ताका अनुसार गुप्तासँगै बारा क्षेत्र नं.४ बाट कृष्णबरत सिंह ,शोभाकर पराजुली ,बृजलाल प्रसाद यादब ,कपिलदेव प्रसाद यादब ,राजकिशोर गुप्ता ,दिपेन्द्र पटेल ,नवराज त्रिपाठी र हरिशंकर प्रसाद साह गरी नौँ जनाको नाम सिफारिस भएको छ ।
त्यस्तै समानुपातिक तर्फबाट ईन्द्रासन प्रसाद मण्डल ,शोभा लामा ,माधव प्रसाद उपाध्याय कुईकेल ,हरि प्रसाद थपलिया ,नारायणी रायमाझी ,फैज अंसारी र बिनोद कुमार मण्डल रहेका छन् ।राष्ट्रिय सभा तर्फबाट प्रेम साह कानु ,राधा साह ,अब्दुल मुतालित अंसारी र योगेन्द्र प्रसाद यादब रहेका छन् । बारा जिल्लामा रहेका चारवटै निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर ४ को सिफारिस प्रक्रिया सकिएको छ भने बाँकी तीन निर्वाचन क्षेत्रका बैठक केही दिनभित्र बस्ने र उम्मेदवार सिफारिस अन्तिम गर्ने तयारी कांग्रेस बाराले जनाएको छ।

