रञ्जन यादब /बारा
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसर पारेर जीतपुरसिमरा नगर अस्पतालमा जन्मिएका नवजात शिशुहरूका लागि न्यानो कपडा (बेबी ब्ल्याङ्केट) वितरण गरिएको छ। सिमरा महिला बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा गरिएको उक्त कार्यक्रममा १ सय थान बेबी ब्ल्याङ्केट हस्तान्तरण गरिएको हो।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २ का कार्यवाहक वडाध्यक्ष उद्वब प्रसाद गौतमको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा नगर अस्पतालका प्रमुख डा. नवनित रौनियार, सिमरा महिला साकोसकी निर्वतमान अध्यक्ष अनिता लम्साल, संस्थाका पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति थियो।कार्यक्रमका वक्ताहरूले नवजात शिशुहरूको स्वास्थ्य र सुरक्षित बाल्यकाल सुनिश्चित गर्न प्रारम्भिक चरणमै आवश्यक सामग्री उपलब्ध गराउनु महत्वपूर्ण रहेको उल्लेख गर्दै महिला सशक्तिकरण र लैङ्गिक हिंसा विरुद्धको अभियानलाई समुदायमै पुगेर कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।
आयोजक संस्थाले यस कार्यक्रममार्फत नवजात शिशुहरूलाई आवश्यक सहयोग पु¥याउनुका साथै समाजमा लैङ्गिक हिंसाका विषयमा जागरुकता फैलाउने उद्देश्य रहेको बताएको छ। उनीहरूले भविष्यमा पनि सामाजिक उत्तरदायित्वअनुरूप यस्ता अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

