अमलेखगंजको हात्तीसारमा स्थायी वन्यजन्तु उद्धार टोली स्थापना गर्ने तयारी

रञ्जन यादब /बारा

बारामा वन्यजन्तु जन्य जोखिम बढ्दै गएपछि अमलेखगंज स्थित हातीसारमा स्थायी वन्यजन्तु उद्धार टोली(डार्ट समुह)को स्थाई कार्यालय स्थापना गर्ने प्रक्रिया अघि बढाइएको छ। वन तथा वातावरण मन्त्रालय अन्तर्गतको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले हालै जारी गरेको पत्रमार्फत पर्सा राष्ट्रिय निकुञ्ज कार्यालयलाई उद्धार टोली स्थायी रूपमा राख्न आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएको हो।

पर्सा राष्टिय निकुञ्ज र डिभिजन बन कार्यालय बाराको क्षेत्रमा हात्ती, गैंडा, चितुवा जस्ता वन्यजन्तु बस्तीमा प्रवेश गर्ने तथा जनधनमा क्षति पु¥याउने जोखिम बढेसँगै उद्धारमा ढिलाइ हुने समस्या देखिँदै आएको थियो। घटनास्थलमा तत्काल उद्धार टोली नपुग्दा जोखिम अझ बढ्ने भएकाले विभागले अमलेखगंज हातीसार परिषरमा रहेको राष्ट्रिय प्रकृती संरक्षण कोषको प्रयोगमा नरहेको भवनलाई स्थायी उद्धार केन्द्रका रूपमा विकास गर्न लागेको हो।यसअघि उद्धारका लागि विभिन्न निकाय—राष्ट्रिय प्रकृति संरक्षण कोष, जैविक विविधता संरक्षण केन्द्र, चिडियाखाना लगायतको कार्यालयसँग अलगअलग समन्वय गर्नुपर्ने भएकाले उद्धार कार्यमा समय लाग्ने, उपकरण अभाव हुने तथा प्राविधिक जनशक्तिको समस्या देखिँदै आएको थियो।

अब भने अमलेखगंज हातीसारमै आवश्यक जनशक्ति, साधन–स्रोत, उपकरण र डार्ट विशेषज्ञसहितको ‘स्थायी उद्धार टोली’ बस्ने व्यवस्था गरिनेछ।विभागका उपमहानिर्देशक वेदकुमार ढकालले हस्ताक्षर गरेको पत्रमा हाल प्रयोगमा रहेका भवन तथा कोषमार्फत उपलब्ध साधनस्रोत प्रयोग गरी अमलेखगंज हातीसारमै उद्धार टोली सञ्चालन गर्न पर्सा राष्ट्रिय निकुञ्जलाई स्पष्ट निर्देशन दिइएको उल्लेख छ। निकुञ्जको अमलेखगंज,हात्तिसार परिसर कोषको प्रयोगमा नरहेको भवनमा न्युनत्तम दक्ष प्राबिधिक जनशक्ति ,साधनस्रोत र उपकरण सहितको डार्ट समुह रहने गरी ब्यवस्था मिलाईएको छ ।विभागका अनुसार स्थायी टोली सञ्चालनमा आएपछि आकस्मिक घटनामा समयमै प्रतिक्रिया दिने, मानव–वन्यजन्तु द्वन्द्व घटाउने र उद्धार प्रक्रिया थप प्रभावकारी तथा सुरक्षित बन्ने बिश्वास लिएको छ ।