जीतपुरसिमराको बहुचर्चित माटो काण्ड प्रतिबेदन कार्यान्वयनमा मतभेद, निर्णय अर्को बैठकमा सारियो

रञ्जन यादब /बारा

जीतपुरसिमरा। जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ११ मा भएको बहुचर्चित माटो काण्ड सम्बन्धी प्रतिबेदन कार्यान्वयनको विषयमा कार्यपालिका बैठकमा मतभेद देखिएको छ। वडा नं. ११ मा रहेका सार्वजनिक जग्गाको कित्ता नं. ३५, ४१ र ४२ बाट अबैध रूपमा माटो उत्खनन गरी बिक्री भएको आरोप लागेपछि २०८० साल असोज ३० गते उप–प्रमुख भोला अधिकारीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो।

समितिले २०८० साल माघ २५ गते प्रतिबेदन तयार गरी नगर प्रमुख राजन पौडेलसमक्ष बुझाएको थियो। प्रमुख पौडेलले तत्कालै उक्त प्रतिबेदन कार्यान्वयनमा लैजान निर्देशन दिएका थिए।तर करिब दुई वर्षपछि मात्र उक्त प्रतिबेदन कार्यान्वयनको विषय शुक्रबार ४९औं कार्यपालिका बैठकको पहिलो एजेन्डाका रूपमा उठाइए पनि छलफलका क्रममा मत बाझिँदा निर्णय अर्को बैठकका लागि सारिएको छ।

उप–प्रमुख तथा छानबिन समितिका संयोजक भोला प्रसाद अधिकारीले सो माटो चोरी प्रकरण अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्धा परिसकेको अवस्थामा अहिले कार्यान्वयन गर्न खोज्नु उचित नहुने तर्क प्रस्तुत गरे। उनका अनुसार, “त्यति बेला नै कार्यान्वयन गरिएको भए हुन्थ्यो, अहिले अख्तियारले सम्बन्धित व्यक्तिहरूसँग बयान लिँदै अनुसन्धान गरिरहेको अवस्थामा पुनः कार्यान्वयन गर्दा राम्रो सन्देश जाँदैन।”त्यस्तै समितिका सदस्य तथा वडा नं. १६ का अध्यक्ष हरिदेव खरेलले कर्मचारी र जनप्रतिनिधि उपमहानगरपालिकाका अभिन्न अङ्ग भएकाले कारबाहीभन्दा समस्या समाधानको बाटो खोज्नु उपयुक्त हुने धारणा राखे।तर प्रवक्ता तथा वडा नं. ४ का अध्यक्ष भोजबहादुर खत्री (ईश्वर)ले उप–प्रमुखको नेतृत्वमा बनेको प्रतिबेदन तत्काल कार्यान्वयनमा लैजानुपर्ने तर्क गरे। उनका अनुसार, “सार्वजनिक जग्गाबाट माटो चोरी भएर राजस्व गुमेको छ, जमिनमा पाखरीजस्ता खाल्डा बनेका छन्। संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउनुपर्छ।

”नगर प्रमुख राजन पौडेल निकट स्रोतका अनुसार, माटो चोरी प्रतिबेदन कार्यान्वयन गरी दोषीमाथि कारबाही गर्ने उद्देश्यले पहिलो प्रस्तावमा राखिए पनि कार्यान्वयनको निर्णय नहुँदा समस्या भएको हो। प्रमुख प्रशासकीय अधिकृतको सरुवा, जनप्रतिनिधिबीचको मनमुटाव र प्रशासनिक कारणले पनि प्रतिबेदन कार्यान्वयनमा ढिलाइ भएको बताइएको छ।यससँगै, दुई वर्षअघि नै नगर प्रमुखले कार्यान्वयनका लागि तोक लगाएको प्रतिबेदन अझै पेन्डिङ अवस्थामा रहँदा, बहुचर्चित माटो काण्ड पुनः विवादको केन्द्रबिन्दु बनेको छ। दुई बर्ष अघि बनेको माटो उत्खनन् छानबिन समितीमा संयोजक उप प्रमुख अधिकारी ,सदस्यहरुमा वडा अध्यक्षहरु चतुरबाबु वाग्ले ,हरिदेव खरेल ,मोलिलाल राउत ,राम प्रसाद लामिछाने ,संजय राउत र प्रमुख प्रशासकिय अधिकृत सदस्य सचिव रहनु भएको थियो ।