जीतपुरसिमरामा प्रदूषण नियन्त्रणको चर्चा मात्रै, सुधार शून्यमै

रञ्जन यादब /बारा

बारा जिल्लामा हरेक नयाँ प्रमुख जिल्ला अधिकारी (सीडीओ) आएपछि जीतपुरसिमरा उपमहानगरपालिकाभित्रका उद्योगहरूले गर्दै आएको प्रदूषण, खोलामा मिसाइने ढल र अतिक्रमण गरिएको जग्गाको अनुगमन गर्ने क्रम दोहोरिँदै आएको छ । तर, विगतका जस्तै यो पटक पनि नतिजा र सुधार शून्य नै रहने हो की भन्ने आशंका स्थानीयहरूमा बढ्दै गएको छ ।

हालसालै बारा जिल्लाका प्रमुख जिल्ला अधिकारीका रूपमा आएका प्रकाश पौडेलले पनि उप–प्रमुख भोला अधिकारीसहितको टोली लिएर जीतपुरसिमराका विभिन्न उद्योग क्षेत्रको अनुगमन गरेका छन् । टोलीले उद्योगहरूले फ्याँक्दै आएका फोहोर र रासायनिक पदार्थका कारण खोलानालामा देखिएको प्रदूषण र आसपासको वातावरणीय क्षतिको अवलोकन गरेको थियो ।

तर स्थानीयहरू भने यस्ता अनुगमनलाई “देखाउने कार्यक्रम मात्रै” भन्दै असन्तुष्ट छन् । उनीहरूको भनाइमा, “हरेक सीडीओले सुरुवातमा ठूला–ठूला प्रतिबद्धता जनाउने गर्छन् तर परिणाममा कहिल्यै केही देखिँदैन।” एक स्थानीयले आक्रोश पोख्दै भने,“बिगतका सिडिओ सापहरूको प्रवृत्ति नै त्यही रह्यो — उद्योगमा गएर ठूला–ठूला कुरा गर्ने, कर्मचारीलाई थर्काउने, तर पछि मिलामतोमा रमाउने र आफ्नो कार्यकालभर सुधारको एउटा सिँकासमेत नभाँच्ने।” पर्यावरणविद्हरूले पनि जीतपुरसिमराका धेरै उद्योगहरूले ढल प्रशोधन प्रणालीबिना सीधा फोहोर खोलामा मिसाइरहेको र सरकारी जग्गा अतिक्रमण गर्दै संरचना बनाइरहेको उल्लेख गर्दै प्रशासनले अब व्यवहारिक कदम चाल्नुपर्ने सुझाव दिएका छन् । अब स्थानीयवासीहरूको ध्यान नयाँ सीडीओ प्रकाश पौडेलतर्फ केन्द्रित भएको छ —उनको कार्यशैलीले विगतका अधिकारीहरूको जस्तै निराशा दोहोर्याउने हो कि साँच्चै परिवर्तन ल्याउने भन्ने प्रश्नले जीतपुरसिमरा तातिएको छ ।