रञ्जन यादब /बारा
खाद्य स्वच्छता तथा गुणस्तरसँग सम्बन्धित सरोकारवालाबीचको अन्तरक्रिया कार्यक्रम जीतपुरसिमरा उपमहानगरपालिकास्थित नगर उद्योग वाणिज्य संघको सभा हल जीतपुरमा सम्पन्न भएको छ। उक्त कार्यक्रम खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधाम, धनुषाको आयोजनामा बारा र पर्सा जिल्लाका उद्यमी तथा व्यवसायीहरूसँग आयोजना गरिएको हो।
कार्यक्रममा अनलाइन सिफारिस लिने प्रक्रिया, निबेदन दिने तरिका, व्यवसाय नवीकरणका प्रक्रिया, तथा हालै लागू भएको खाद्य प्रविधि तथा गुण नियन्त्रण ऐन २०८१ सम्बन्धी विषयमा विस्तृत जानकारी प्रदान गरिएको थियो। अन्तरक्रिया कार्यक्रममा व्यवसाय सञ्चालनका क्रममा पालना गर्नुपर्ने मापदण्ड, खाद्य वस्तुको गुणस्तर परीक्षण, लेबलिङ, र स्वच्छताका विषयमा समेत व्यवसायीहरूलाई सचेत गराएका थिए।
कार्यक्रमको अध्यक्षता खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पर्साका प्रमुख सरेश सिँहले गर्नुभएको थियो भने जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछाने प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा बारा–पर्साका विभिन्न उद्योगका प्रतिनिधि, व्यापारी, संघ–संस्थाका प्रतिनिधि तथा स्थानीय सरोकारवाला व्यक्तिहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रमका सहभागिहरूले यस्तो प्रकारका अन्तरक्रियाले व्यवसाय सञ्चालनमा कानुनी स्पष्टता र गुणस्तर सुधारमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए।