घण्टीमाई बचत तथा ऋण सहकारी संस्थाको १३औं वार्षिक साधारण सभा सम्पन्न

रञ्जन यादब /

जीतपुरसिमरा उपमहानगरपालिका–४, औराहास्थित घण्टीमाई बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३औं वार्षिक साधारण सभा सम्पन्न भएको छ।संस्थामा हाल १,८३० जना शेयर सदस्य र ९५ वटा लघुवित्त समूह रहेका छन्। हालसम्म संस्थाको शेयर पूँजी रु. २ करोड ११ लाख ७३ हजार ६ सय पुगेको छ भने आर्थिक वर्ष २०८१÷०८२ मा करिब रु. १८ करोड २२ लाख बराबरको कारोबार भएको छ।कार्यक्रममा संस्थाकी अध्यक्ष कोपिला सिमखडाले आर्थिक वर्ष २०८१÷०८२ मा संस्थाले अपेक्षित मुनाफा हासिल गर्न नसकेको जानकारी दिइन्।

उनका अनुसार तरलता बढ्नु, लगानीमा रहेका केही ऋणको साँवा–व्याज समयमा असुल नहुनु, ब्याजमा प्रतिस्पर्धा, बचतमा उच्च लागत तथा ब्याज खर्च वृद्धि हुनुजस्ता कारणले सोचेअनुसार नाफा कमाउन नसकिएको बताइन्।उनले चालु वर्षमा संस्थाले रु. १ लाख ७ हजार ४ रुपैयाँ मुनाफा आर्जन गरेको उल्लेख गरिन्, जुन अघिल्लो वर्षको रु. ३३ लाख ९१ हजार ६ सय ९७ रुपैयाँ मुनाफाभन्दा निकै कम हो।कार्यक्रमको उद्घाटन बारा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष सतेन्द्र ठाकुरले गरेका थिए।

उनले सदस्यमुखी सहकारीहरूको अवस्था सधैं राम्रो रहने उल्लेख गर्दै फर्जी सदस्य थप्ने र जथाभावी ऋण लगानी गर्ने सहकारीहरू मात्र समस्याग्रस्त हुने बताए। उनले तीनै तहका सरकारले सहकारी क्षेत्रलाई नियमन गर्न प्रयास गरे पनि मनसाय र कार्यान्वयनमा कमी रहेको टिप्पणी गरे।कार्यक्रमको सञ्चालन संस्थाका सचिव त्रिलोक विक्रम ठकुरीले गरेका थिए। संस्थाले जेष्ठ सदस्य धर्म देबी दहाल र हिम बहादुर बोहोरालाई दोसल्लाह ओढाई सम्मान पत्रले सम्मान गर्दै पोष्टिक आहार प्रदान गरेको थियो । त्यस्तै उत्कृष्ट समुह ,बचतकर्ता ,उत्कृष्ट ऋणी र उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गरिएको छ । यस बर्षको घण्टीमाई सहकारी पत्रकारीता पुरस्कार कान्तिपुर टेलिभिजनका संबद्दाता उपेन्द्र ठाकुरलाई प्रदान गरेको छ ।