संविधान दिवसको अवसरमा जीतपुरसिमरामा रक्तदान

रञ्जन यादब /बारा

संविधान दिवसको अवसरमा जीतपुरसिमरा उपमहानगरपालिकाले शुक्रबार रक्तदान कार्यक्रम आयोजना गरेको छ । उपमहानगरपालिकाको कार्यालय परिसरमा भएको कार्यक्रममा १३ महिलासहित कुल ५४ जनाले रगतदान गरेका छन् । कार्यक्रमको उद्घाटन नगर प्रमुख राजन पौडेलले गर्नुभएको थियो । यसअघि कार्यालयमा राष्ट्रिय झण्डा झण्डोत्तोलन गरी संविधान दिवसको औपचारिक कार्यक्रम शुरु गरिएको थियो । कार्यक्रममा उपप्रमुख भोलाप्रसाद अधिकारी, प्रमुख प्रशासकीय अधिकृत शान्तिराज प्रसाईं, विभिन्न वडाका वडाध्यक्ष तथा कर्मचारीहरूको सहभागिता रहेको थियो ।रक्तदानलाई समाजसेवा र मानवताका लागि महत्वपूर्ण योगदानका रूपमा लिँदै सहभागीहरूले संविधान दिवसलाई विशेष बनाएर उत्सवका साथ मनाएका छन् ।