रञ्जन यादब /बारा
बारामा पछिल्लो समय बाघ आक्रमणका घटना बढ्दै गएपछि पर्सा राष्ट्रिय निकुञ्ज कार्यालय आधाभार र डिभिजन वन कार्यालय बाराले मानिसलाई आक्रमण गर्ने बाघ नियन्त्रण कार्ययोजना २०८२ तयार पारेका छन्। निकुञ्जको मध्यवर्ती क्षेत्र अमलेखगन्ज लगायत क्षेत्रमा बाघको गतिविधि तीव्र बन्दै गएपछि द्रुत नियन्त्रणको आवश्यकता महसुस भई सरोकारवालासँग छलफल र सुझाव संकलन गरेर यो कार्ययोजना ल्याइएको हो। यस योजनाले मानव–वाघ द्वन्द्वलाई न्यूनिकरण गर्ने, स्थानीय समुदायमा उत्पन्न भएको त्रास कम गर्ने र समस्याग्रस्त बाघलाई समयमै नियन्त्रणमा ल्याउने उद्देश्य लिएको पर्सा राष्ट्रिय निकुञ्जका बरिष्ठ संरक्षण अधिकृत रामचन्द्र खतिवडाले जानकारी दिए।
योजनाअन्तर्गत थप हात्ती परिचालन गरी प्रभावित क्षेत्रमा अस्थायी क्याम्प स्थापना गरिनेछ भने क्यामेरा ट्रयाप विस्तार गरेर वाघको पहिचान चाँडै गर्न सकिने व्यवस्था मिलाइने उनले जानकारी दिए। त्यस्तै, निकुञ्ज र डिभिजन वन कार्यालयले आ–आफ्नो क्षेत्रमा रेपिड रेस्पोन्स टिम परिचालन गर्ने, निकुञ्ज, प्रहरी, वडा कार्यालय र बफर जोन समितिबाट फोकल व्यक्ति तोक्ने र सम्पर्क नम्बर सार्वजनिक गर्ने कार्य गरिनेछ। प्रभावित वडाका स्वयंसेवकलाई समेटेर वाघ निगरानी समूह गठन गरिने र ती समूहले रातदिन पालोमा निगरानी गरेर घटनाको तत्काल जानकारी दिने व्यवस्था समेत कार्ययोजनामा समावेश गरिएको पर्सा राष्ट्रिय निकुञ्जले जनाएको छ ।यस कार्यान्वयनका लागि निकुञ्ज, डिभिजन वन, प्रहरी,जीतपुरसिमरा उपमहानगरपालिका , वडा कार्यालय, बफर जोन समितिहरूसहित सबै सरोकारवालाको भूमिका सुनिश्चित गरिएको डिभिजन बन कार्यालयका डिभिजनल बन अधिकृत राजीव कुमार झाले जानकारी दिए।
उपमहानगरपालिका र वडा कार्यालयले सूचना प्रवाह गर्ने र गस्ती प्रयोजनका लागि सवारीसाधन तथा इन्धन उपलब्ध गराउने, उपभोक्ता समितिले जनचेतना कार्यक्रम सञ्चालन गर्ने र निगरानी समूहलाई आवश्यक सामग्री सहयोग गर्ने, प्रहरी चौकीले डार्टिङ प्राविधिकलाई सुरक्षा दिने र भिड व्यवस्थापन गर्ने, डिभिजन वन कार्यालयले प्राविधिक टोलीलाई परिचालन गर्ने तथा निकुञ्ज कार्यालयले थप हात्ती र प्राविधिक सहयोग उपलब्ध गराउने जिम्मेवारी पाएका छन् ।योजना कार्यान्वयनका लागि क्षेत्र अनुसार निकुञ्ज प्रमुख वा डिभिजन वन प्रमुखको संयोजकत्वमा समन्वय समिति गठन गरिने र समितिमा प्रहरी प्रतिनिधि, वडा अध्यक्ष, बफर जोन समिति अध्यक्ष, गैर सरकारी संस्था तथा अन्तराष्ट्रिय गैर सरकारी संस्थाका प्रतिनिधिहरू रहने व्यवस्था गरिएको छ। सचिवालय भने अम्लेश्वर उपभोक्ता समिति वा सब डिभिजन वन कार्यालय, पथलैयामा रहनेछ।
निकुञ्जका अधिकारीका अनुसार, समस्याग्रस्त बाघ नियन्त्रणमा नआएसम्म राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ट्रस्ट बाट खटिएको प्राविधिक टोली निरन्तर परिचालन गरिने र कार्ययोजना प्रभावकारी रूपमा कार्यान्वयन भएपछि बाघ नियन्त्रण मात्र नभई समुदायमा शान्त वातावरण कायम हुने विश्वास पर्सा राष्ट्रिय निकुञ्ज र डिभिजन बन कार्यालय बाराले लिएको जनाएको छ ।आधाभारमा भएको छलफल कार्यक्रममा पर्सा राष्ट्रिय निकुञ्जका बरिष्ठ संरक्षण अधिकृत रामचन्द्र खतिवडा , डिभिजन बन कार्यालयका डिभिजन बन अधिकृत राजीव कुमार झा , सबुज गणका गणपती सरोज कोईराला ,जीतपुरसिमरा उपमहानगरपालिका उपप्रमुख भोला अधिकारी ,वडा नं.१ का वडा अध्यक्ष हिरा गुरुङ्ग ,वडा नं.१४ का वडा अध्यक्ष चयन गुरुङ्ग, वडा नं.२१ का वडा अध्यक्ष सुबाश श्रेष्ठ ,वडा नं.२२ का वडा अध्यक्ष शेखरकाजी रुम्बा ,मध्यवर्ती उपभोक्ता समितीका अध्यक्ष राजकुमार मानन्धर ,जनहित उपभोक्ता समितीका अध्यक्ष अमृतलाल श्रेष्ठ,पर्सा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत सन्तोष भगत ,ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख बेद प्रकाश जोशी लगायत स्थानीय तथा सरोकारवाला ब्यक्तिहरुको उपस्थिती रहेको थियो ।