जीतपुरसिमरामा जेनजी आन्दोलनकै क्रममा आगजनी, तोडफोड र कागजपत्र जलाइयो

रञ्जन यादब /बारा

बारामा जारी जेनजी आन्दोलन अन्तर्गत जीतपुरसिमरा उपमहानगरपालिकामा मंगलबार युवाहरुले आगजनी तथा तोडफोड गरेका छन् । प्रदर्शनकारीले उपमहानगरपालिकाको पार्किङ्ग क्षेत्रमा राखिएका १८ वटा मोटरसाइकल,सिमरामा पार्किङ्ग गरी राखिएको नगर प्रमुख (मेयर) चढ्ने गाडी, दुईवटा कार र एउटा दमकलमा आगजनी गरेका हुन् । यस्तै, कार्यालय भित्र रहेका विभिन्न कागजपत्र, अभिलेख ,कम्प्युटर, कुर्सि ,बेँच र सामग्री समेत जलाइएको छ ।आन्दोलनकारीको भीड नियन्त्रण गर्न सुरक्षाकर्मी परिचालन भए पनि उनीहरू नियन्त्रणबाहिर पुगेपछि क्षति बढेको बताइएको छ ।

आगलागी नियन्त्रणका लागि दमकल र प्रहरी खटिए पनि प्रदर्शनकारीको आक्रोशका कारण समयमै नियन्त्रण लिन नसकिएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । आन्दोलनकारीले सम्पत्ति मात्र नभई नगरवासीका लागि आवश्यक कागजपत्र र अभिलेख समेत नष्ट पारेका छन् । यस्तै आन्दोलकारीहरुले बारा क्षेत्र नं.४ का प्रतिनिधि सभा सदस्य कृष्ण कुमार श्रेष्ठ (किसान) श्रेष्ठको घरमा आगजनी र उनी चढ्ने गाडिमा आगलागि गरेका छन् ।