रञ्जन यादब /बारा
जीतपुरसिमरा उपमहानगरपालिकामा उपभोक्ता समिती भएर काम गर्न स्थायी लेखा नम्बर (प्यान) अनिवार्य लिनुपर्ने भएको छ । जीतपुरसिमरा उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८२÷०८३ को बजेट तथा कार्यक्रम अन्तर्गत स्वीकृत वडा स्तरीय योजनाहरू कार्यान्वयन गर्न उपभोक्ता समिति गठन सम्पन्न भईसकेपछि उपमहानगरपालिकाको कार्यालयमा दर्ता र आन्तरिक राजस्व कार्यालयबाट स्थायी लेखा नम्बर लिनुपर्ने उपमहानगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत शान्तिराज प्रसाँईद्धारा जारी सुचनामा उल्लेख छ ।
योजनाको कार्यान्वयन पारदर्शी र व्यवस्थित बनाउन यस्तो प्रावधानलाई कार्यान्वयनमा ल्याईएको नगर प्रमुख राजन पौडेलले जानकारी दिए ।उपमहानगरपालिकाले जारी गरेको सुचना अनुसार समिति गठनका लागि आम भेला आयोजना गरी कम्तीमा सात दिन अघिनै सार्वजनिक सूचना दिनुपर्नेछ।अायाेजनाबाट प्रत्यक्ष लाभन्वितकाे अधिकत्तम भेलाबाट अायाेजना स्थलमै ७ देखि ११ सदस्यीय उपभोक्ता समिति गठन गर्नुपर्ने र समितिमा न्यूनतम ३३ प्रतिशत महिला सहभागिता अनिवार्य हुने व्यवस्था छ। त्यस्तै, समितिको अध्यक्ष, सचिव वा कोषाध्यक्षमध्ये कम्तीमा एक पदमा महिला रहनुपर्ने प्रावधान राखिएको छ।
वडा स्तरमा योजना सञ्चालन गर्न वडा अध्यक्षले ,वडा सदस्य वा वडा कार्यालयले तोकेको प्रतिनिधिको रोहबरमा गठन गर्नुपर्ने ब्यवस्था गरिएको छ। योजनाको कार्यान्वयन ‘जीतपुरसिमरा उपमहानगरपालिकाको उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि, २०७५’ बमोजिम गरिने जनाइएको छ।