हुलास स्टीलमा मजदुर नेतामाथि कारबाही, मजदुर संघको कडा आपत्ति

रञ्जन यादब /बारा

हुलास स्टील उद्योगमा कार्यरत मजदुर नेतामाथि भएको व्यवस्थापन पक्षको कारबाहीप्रति अखिल नेपाल औद्योगिक मजदुर संघ, बारा जिल्ला समितिले कडा विरोध जनाएको छ ।संघले बिहिबार सिमरामा प्रदर्शन गर्दै इलाका प्रशासन कार्यालय र इलाका प्रहरी कार्यालयमा ज्ञापनपत्र बुझाएको थियो।

ज्ञापनपत्रमा व्यवस्थापनले गैरकानुनी ढंगले श्रमिक संघका पदाधिकारीमाथि कारबाही गरेको भन्दै तत्काल खारेज गर्न माग गरिएको छ।संघका अनुसार व्यवस्थापनले इकाई अध्यक्ष प्रदीप गिरीलाई गैरकानुनी रूपमा निलम्बन गरेको छ भने कोषाध्यक्ष मिन बहादुर चौधरीलाई स्पष्टीकरण माग्दै निलम्बन गरिएको छ। यस्तै वरिष्ठ उपाध्यक्ष युवराज खनाललाई सात दिने अल्टिमेटमसहित स्पष्टीकरण सोधिएको उल्लेख छ।

श्रमिक अधिकारमाथि हुने दमनलाई स्विकार नगर्ने भन्दै संघले औद्योगिक क्षेत्रमा संघर्षका कार्यक्रम अघि सार्ने चेतावनी दिएको छ।

विरोध कार्यक्रममा पीडित मजदुर नेतासहित अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज अजुन चिमरिया, केन्द्रीय सदस्य अच्छे कुमार ओझा, अखिल नेपाल औद्योगिक मजदुर संघका केन्द्रीय अध्यक्ष बेनी प्रसाद तिमील्सिना, महासंघ प्रदेश सचिव तथा बारा अध्यक्ष कृष्ण प्रसाद पुडासैनी, बारा अध्यक्ष डीबी थापा र पर्सा अध्यक्ष मदन साहलगायतको उपस्थिति थियो।