नारायणी स्टील उद्योगको लापरबाहिले करेन्ट लागेर एक मजदुरको मृत्यु

रञ्जन यादब /बारा

वीरगञ्ज महानगरपालिका–३२ स्थित नारायणी स्टील उद्योगमा कार्यरत एक युवकको करेन्ट लागेर ज्यान गएको छ।बाराको जीतपुरसिमरा–१४ घर भएका २२ वर्षीय उपेन्द्र चौधरीको रात्रिकालीन सिफ्टमा वेल्डिङ सेक्सनमा काम गर्ने क्रममा करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। चौधरीलाई करेन्ट लागेको करिब दुई घण्टापछि नारायणी अस्पताल पु¥याइए पनि राति ३ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।प्रहरी नायव उपरीक्षक किशोर लम्सालका अनुसार मृतक उद्योगमा ठेकेदारमार्फत काम गर्दै आएका थिए।घटनापछि मृतकका आफन्त र मजदुर संगठनहरूले उद्योगमा सुरक्षित वातावरण नहुँदा दुर्घटना भएको दाबी गरेका छन्।

अखिल नेपाल औद्योगिक मजदुर संघका अध्यक्ष बेनी तिमिल्सिनाले क्याल ग्रुपले सञ्चालन गर्ने उद्योगहरूमा मजदुरलाई ट्रेड युनियनसम्बन्धी अधिकार नदिइएको, कानुनअनुसार सुविधा नपाइएको र अनुगमनमै अवरोध पु¥याइने आरोप लगाए। उनले संविधानले नै मजदुरलाई ट्रेड युनियन खोल्ने र सामाजिक सुरक्षामा आवद्ध हुने अधिकार दिएको भए पनि त्यसको कार्यान्वयन नहुने अवस्थाले बारम्बार दुर्घटना हुने गरेको बताए।

उता, क्याल ग्रुपका अध्यक्ष सत्यनारायण क्यालले चौधरी नियमित मजदुर नभए पनि उनको दुर्घटना बिमा भएकाले नेपाल सरकारले तोकेको क्षतिपूर्ति दिने प्रतिबद्धता जनाएका छन्। उनले आर्थिक मन्दीका कारण उद्योगमा ठेकेदारमार्फत श्रमिक भर्ना गर्नुपरेको उल्लेख गर्दै सुरक्षा मापदण्ड पालना गरिएको भए पनि दक्ष श्रमिक अभावमा दुर्घटना हुने गरेको बताए।अध्यक्ष तिमिल्सिनाले मजदुरको सुरक्षामा लापरबाही गरेको र कानुनविपरीत श्रमिकको हक अधिकार खोसेको भन्दै नारायणी स्टील उद्योगविरुद्ध कानुनी प्रक्रिया अघि बढाइने चेतावनी दिएका छन्। साथै, मृतकका परिवारलाई उचित क्षतिपूर्ति र जीवनभर पेन्सनको व्यवस्था तत्काल गर्नुपर्ने माग मजदुर संगठनहरूले गरेका छन्।