रञ्जन यादब /बारा
राष्ट्रिय तथ्याङ्क कार्यालय तथ्याङ्क समन्वय कार्यालय पर्साको आयोजनामा जीतपुरसिमरा उपमहानगरपालिकाको जीतपुरमा स्थानीय तह स्तरीय तथ्याङ्कीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । गोष्ठीमा शिक्षक, कर्मचारी तथा पत्रकारहरुको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रममा तथ्याङ्क अधिकृत राजेश दासले तथ्याङ्क संकलन विधि, अनलाइन तथ्याङ्क हेर्ने तरिका तथा जीतपुरसिमरा उपमहानगरपालिकाको तथ्याङ्कीय विवरणबारे विस्तृत जानकारी प्रस्तुत गरे। गेष्ठीमा राष्ट्रिय जनगणना २०७८ अनुसार जीतपुरसिमरा उपमहानगरपालिकाको कुल जनसंख्या १ लाख २७ हजार ३०७ रहेको प्रस्तुत गरिएको थियो । जसमा पुरुषको ५०.२ प्रतिशत र महिलाको ४९.८ प्रतिशत छन्।
जनसंख्या वृद्धि दर ०.८ प्रतिशत रहेको यस उपमहानगरमा परिवार संख्या २५ हजार ६५० रहेको देखाईएको थियो ।जितपुरसिमरा उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शिवजी प्रसादले सहि विश्लेषण र नीति कार्यान्वयनका लागि तथ्याङ्कको महत्वपूर्ण भूमिका रहेको बताए।
उनले तथ्याङ्क अधिकृत तथा कर्मचारी भए पनि अन्य जिम्मेवारीका कारण तथ्याङ्क संकलनमा शुद्धता कायम हुन नसकेको टिप्पणी गरे। तथ्याङ्क समन्वय कार्यालय पर्साका प्रमुख पुर्णबहादुर घर्तिमगरले तथ्याङ्कसम्बन्धी जानकारी प्रदान गर्ने र तथ्याङ्कलाई विकेन्द्रित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको स्पष्ट पारे। गोष्ठीमा सहभागीहरुले तथ्याङ्कसम्बन्धी आफ्ना जिज्ञासा राखेका थिए।