रञ्जन यादब /बारा
बाराको सिमरा स्थित सिट ईन्सटीच्युटले व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गर्दै ‘ बैकिङ्ग केरियर डेभल्पमेन्ट’ कार्यक्रमको औपचारिक सुरुवात गरेको छ । आयोजित विशेष कार्यक्रममा जितपुर–सिमरामा क्रियाशील विभिन्न बैंकका प्रमुख प्रतिनिधिहरूलाई आतिथ्यका रूपमा आमन्त्रण गर्दै विद्यार्थीहरूलाई बैंकिङ क्षेत्रको भविष्य, अवसर र तयारीका उपायहरूबारे व्यापक जानकारी प्रदान गरिएको थियो।
कार्यक्रमका क्रममा बैंक प्रतिनिधिहरूले बैंकिङ क्षेत्रमा सफलता हासिल गर्न आवश्यक पर्ने अध्ययनका विधिहरू, परीक्षाका तयारी उपायहरू, आवश्यक सीप विकास र व्यावसायिक आचरणबारे आफ्ना अनुभवहरू विद्यार्थीहरूसँग बाँडे। उनीहरूले विद्यार्थीहरूलाई बैंकिङ करियरप्रति उत्साहित र प्रेरित गराए। सिट ईन्सटीच्युटका सञ्चालक द्वारिका राज पौडेलका अनुसार बैंकिङ क्षेत्रमा करियर बनाउन चाहने युवाहरूलाई लक्षित गर्दै विभिन्न तहका तयारी कक्षाहरू यही साउन २२ गतेदेखि सुरु हुनेछन्। उहाँले जानकारी दिनुहुँदै भन्नुभयो, “विद्यार्थीहरूले ७ दिनसम्म निःशुल्क कक्षामा सहभागी भई आफैं मूल्यांकन गर्न सक्नेछन्, त्यसपछि मात्र भर्ना प्रक्रिया अगाडि बढाइनेछ।” तयारी कक्षाहरू बिहान र साँझ—दुवै सत्रमा सञ्चालन गरिनेछ, जसले विद्यार्थीहरूलाई समयअनुसार अध्ययन गर्न सहजता र लचिलोपन प्रदान गर्ने विश्वास लिइएको छ । कार्यक्रममा ६० जना बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।