लायन्स क्लब अफ सिमरा जागरणद्वारा वृक्षरोपण कार्यक्रम सम्पन्न

रञ्जन यादब /बारा

लायन्स क्लब अफ सिमरा जागरणले आफ्नो वार्षिक कार्ययोजनाअन्तर्गत बुधवार वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ। बाराको दुधोरा डिलस्थित संरक्षित पितृ स्मारक पार्कमा आयोजना गरिएको कार्यक्रममा आँप, लिची, कहटर र अमला जातका फलफूलका विरुवा रोपिएको क्लबका अध्यक्ष विनोद सापकोटाले जानकारी दिनुभयो।

वातावरण सन्तुलन, हरियाली संरक्षण तथा जङ्गली बाँदरहरूलाई भुलाउने उद्देश्यले विशेषगरी फलफूलका बिरुवाहरू चयन गरिएको जोन चेयरपर्सन युवराज पौडेलले बताउनुभयो। पितृ स्मारक पार्क स्थानिय समाजसेवी सापकोटाको नेतृत्वमा संरक्षण गरिँदै आएको स्थल हो। मलामीहरूलाई चिसो र शान्त वातावरणमा विश्राम गर्न सकियोस् भन्ने सोचका साथ विगत चार वर्षदेखि वरपिपल, स्वामी, निम, बेल, पारिजात, कपुर र गोलमोल लगायतका बोटबिरुवा रोपिएको जनाइएको छ । उक्त वृक्षरोपण कार्यक्रमले वातावरणीय संरक्षणका साथै सामुदायिक सहभागिता र चेतनामा समेत सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ।