रञ्जन यादब /बारा
बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा नयाँ नियुक्त नगरप्रहरीहरूका लागि एक महिनाको आधारभूत तालिम आइतबारदेखि सुरु भएको छ। सशस्त्र प्रहरी बल नेपाल, नं. १२ गण हेडक्वाटर बाराको समन्वयमा तालिम सञ्चालनमा ल्याइएको हो।
तालिमको उद्घाटन नगरप्रमुख राजन पौडेलले सशस्त्र प्रहरी गण परिसरमै एक विशेष समारोहका बीच गर्नुभयो। उद्घाटन कार्यक्रममा उपप्रमुख प्रशासकीय अधिकृत शान्ति राज प्रसाईं, सशस्त्र प्रहरी उपरीक्षक खुम बहादुर केसी, प्रशासकीय अधिकृत बालाराम खड्का, उद्योग वाणिज्य संघ अध्यक्ष मोहन शर्मा लामिछाने, तथा मेयरका स्वकीय सचिव रामकृष्ण श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।
तालिममा नगरप्रहरीका दुई जना सहायक निरीक्षक – विज्ञानकुमार लामा र सुरक्षा विश्वकर्मा, १२ जना जवान, पाँच जना अग्निनियन्त्रक र एक जना सवारी चालक सहभागी छन्। सहभागीहरूको संख्या जम्मा २० जना रहेको छ।नगर क्षेत्रको शान्ति–सुरक्षा तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन र नगरप्रहरीहरूको कार्यदक्षता तथा अनुशासन सुदृढ गर्न तालिम सञ्चालन गरिएको हो। तालिम प्रमुख प्रशिक्षक सशस्त्र प्रहरी निरीक्षक प्रेम सिंह धामीसहित सात जना प्रशिक्षकहरूले दिनेछन्।