सिमरा खानेपानी उपभोक्ता समितिद्वारा छात्रवृत्तिका लागि आवेदन खुला

रञ्जन यादब /बारा

सिमरा खानेपानी उपभोक्ता तथा सरसफाई समितिको कार्यालयले स्नातक तथा स्नातकोत्तर तहमा अध्ययन गर्न इच्छुक कर्मचारी र उपभोक्ताका सन्तानका लागि छात्रवृत्तिको आवेदन आह्वान गरेको छ ।

खानेपानी कार्यालयले दुई वर्षअघि सिमरा कलेजसँग सम्झौता गरी प्रत्येक वर्ष पाँच जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने व्यवस्था मिलाएको थियो। सम्झौताअनुसार विगत दुई वर्षमा पाँच–पाँच जना विद्यार्थीलाई छात्रवृत्तिका लागि सिफारिस गरिसकिएको छ ।यसै सम्झौताकै निरन्तरतास्वरूप समितिले २०८२ साउन २ गते शुक्रबारदेखि लागू हुने गरी १५ दिनभित्र आवेदन दिन अनुरोध गरेको छ। समितिले प्राप्त आवेदनहरूमध्येबाट कर्मचारीका परिवारका दुई जना र उपभोक्ताका परिवारका तीन जना गरी पाँच जनाको नाम सिफारिस गर्नेछ ।

छात्रवृत्तिका लागि आवेदन दिने इच्छुक विद्यार्थीले आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्र तथा सिमरा कलेजको सिफारिस पत्रसहित निवेदन पेश गर्नुपर्नेछ। स्नातक तहका लागि एसईई र कक्षा १२ उत्तीर्ण प्रमाणपत्र आवश्यक हुने छ भने स्नातकोत्तर तहका लागि स्नातक उत्तीर्ण प्रमाणपत्र अनिवार्य हुनेछ ।समितिका अध्यक्ष कासिम हुसेनद्वारा जारी सूचनामा उल्लेख भएअनुसार निर्धारित म्यादभित्र सम्पूर्ण कागजातसहित आवेदन दिन अनुरोध गरिएको छ।