रञ्जन यादब /बारा
चालू आर्थिक वर्ष २०८२÷०८३ मा जीतपुरसिमरा उपमहानगरपालिकाले गरेको कर निर्धारणप्रति असन्तुष्टि जनाउँदै उद्योगी–व्यवसायीहरूले ज्ञापनपत्र बुझाएका छन्। उपमहानगरपालिकाका कार्यवाहक प्रमुख तथा उप–मेयर भोला प्रसाद अधिकारीलाई उद्योगीहरूले संयुक्तरूपमा ज्ञापनपत्र बुझाउँदै विभिन्न शीर्षकमा असन्तोष प्रकट गरेका हुन्। ज्ञापनपत्रमा उल्लेख भएअनुसार कबाडी वस्तु र मुख्य उत्पादनबीचको स्पष्ट पहिचान नहुँदा अनुचित रूपमा कर लगाइएको छ।
त्यसैगरी सहायक सडक मर्मत तथा सडक उपयोग शुल्क, वातावरण संरक्षण शुल्क जस्ता शीर्षकमा पनि व्यवसायीहरूलाई अनुचित करको बोझ पारिएको उनीहरूको गुनासो छ ।उद्योगहरूबाट निस्कने धुवा, धुलो तथा पानीको व्यवस्थापन उद्योगहरू स्वयंले गरिरहेको हुँदा वातावरण संरक्षण शुल्कको औचित्य नरहेको उद्योगीहरूको तर्क छ। त्यस्तै, उत्पादनको उपफलस्वरूप निस्कने छाईं (शून्य मूल्यको वस्तु) को व्यवस्थापन पनि उद्योगले आफैं गर्ने भएकाले त्यसमा प्रति ट्रक १,००० रुपैयाँ र प्रति ट्रेक्टर ३०० रुपैयाँ लिने निर्णय अनुचित भएको व्यवसायीहरूको भनाइ छ ।त्यसैगरी, पिना लाई कबाडी वस्तु होइन, मुख्य उत्पादनको रूपमा स्वीकार गर्नुपर्ने र उक्त वस्तु नेपालबाट दोस्रो मुलुकमा समेत निर्बाध रूपमा निर्यात भइरहेकाले त्यसलाई हचुवाको भरमा कर लगाएर कबाडी वस्तुको श्रेणीमा राख्नु अन्यायपूर्ण भएको शिवशक्ति ध्यु उद्योगका प्रतिनिधि प्रमोद पटेलको जिकिर छ ।प्रती किलो ०.३ पैसाबाट ६७ प्रतिशत बृद्धि गरी ०.५ पैसा कायम गरेकोप्रती आफुहरु गम्भिर ध्यान आकर्षित भएको उनीहरुले बताएका छन् । जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेका अनुसार उपमहानरपालिकाले यस्ता निर्णयहरू गर्नु अघि विस्तृत अध्ययन, सरोकारवालासँग परामर्श, र व्यावहारिक पक्षलाई ध्यान दिनु आवश्यक छ, ताकि उद्योगमैत्री वातावरण निर्माण गर्न सकियोस् ।
उद्योगीब्यवसायीहरुसँग बिना समन्वय गरी हचुवाको भरमा कर लागु गर्न खोजे कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । यता जीतपुरसिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत शान्तिराज प्रसाँईले आफु कर्मचारीहरु बनाईएका कानुनहरु लागु गर्ने तहतप्काको ब्यक्ति भएको बताए । उपमहानगरपालिकाले तोकेको दररेटलाई भारतीय रुपैयामा त्यही रकम मागिरहेको गुनासोलाई सम्बोधनकोलागि अहिले ठेक्दारलाई पत्र काटेर नियन्त्रण गर्ने बताए । जीतपुरसिमरा उपमहानगरपालिकाको उप मेयर भोला प्रसाद अधिकारीले उपमहानगरपालिकाले निर्धारण गरेको कर कार्यान्वयन चरणमा भएको बताए ।यस बिषयमा राजश्व परामर्श समितीको बैठकमा छलफल गर्न सकिने बताए । तर रोक्न सक्ने अवस्था अहिले नरहेको बताए । उद्योगी ब्यवसायीका प्रतिनिधिहरुले जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघका अध्यक्ष मोहन शर्मालाई पनि करको विरोधमा ज्ञापनपत्र बुझाएका थिए । ज्ञापन पत्र बुझाउँने कार्यक्रममा शिवशक्ति ध्यु उद्योग प्रा.लि.,नेपाल सेरामिक ईण्डष्ट्रिज प्रा.लि. ,आर.एम.सि. फुड प्रा.लि. ,कृष्ण स्टिल ईण्डष्ट्रिज प्रा.लि ,राजेश मेटल क्राफट , नन्दन ध्यु एण्ड आयल ईण्डष्ट्रिज ,गढिमाई आरएमसी प्रा.लि. ,हनुमान तेल उद्योग लगायतको सहभागिता रहेको थियो ।