रञ्जन यादब /
बारा जिल्लाको जीतपुरबाट हराएका ३ वर्षीय बालक बेपत्ता भएको आज ६ दिन पूरा भइसकेको छ। हालसम्म उनको अवस्था अज्ञात रहेको छ, जसले गर्दा परिवारजन निकै आक्रोशित र चिन्तित छन्।बालकका आमा र हजुरआमा लगायतका अन्य परिवारका सदस्यहरु समय–समयमा बेहोस हुने अवस्था पुगेका छन्। परिवारले बालकको अवस्थाबारे जानकारी दिने जो कोहीलाई रु १ लाख पुरस्कार दिने घोषणा गरेको छ।
साथै, बारा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री कृष्ण कुमार श्रेष्ठ (किसान) ले पनि खोजीमा मद्दत गर्ने व्यक्तिलाई रु ५१ हजार प्रदान गर्ने बताएका छन्। पूर्वमन्त्री श्रेष्ठले बारा जिल्ला, पर्सा जिल्ला, र मधेश प्रदेशका सुरक्षा प्रमुखहरूसँग फोनमार्फत संवाद गर्दै २४ घण्टाभित्र बालकको खोजी गर्नुपर्ने अल्टिमेटम दिएका छन्। उनले परिवारका सदस्यहरुलाई घरमै भेटेर बच्चालाई खोज्न आफुले कुनै कसर बाँकी नछोड्ने प्रतिबधता ब्यक्त गर्दै आश्वसत पार्ने जमर्को गरेका थिए ।
उनले आफनै गाडिबाट बारा र पर्साको संकास्पद स्थानमा पुगेर त्यहाँका स्थानीयका कुरा सुनेका थिए । यसैबीच, बारा प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष तामाङले घटनालाई गम्भीर रूपमा लिएको बताउँदै खोजी कार्यलाई तीव्र पारिएको बताएका छन्। प्रहरीले हराएका बालकलाई खोज्न विशेष टोली परिचालन गरिसकेको छ। स्थानीय बासिन्दा र परिवारले छिट्टै बालक सुरक्षित रूपमा फेला पर्ने आशा गरेका छन्।
रितेश चौधरीका छोरा ३ बर्षिय अंश कुमार चौधरी माघ १७ गते देखी हराईरहेका छन् । स्कुल जाने बिद्यार्थीको पछि लाग्ने निस्कदा उनी हराएका हुन् । जीतपुरका बिभिन्न स्थानमा रहेको सि.सि.टि.भि. क्यामराको फुटेजमा बालक एक्लै देखिएपनि उनको अहिले सम्म अवस्था अज्ञात नै रहेको छ ।