रञ्जन यादब ,बारा
सर्बसधारणमा पाठेघर खस्ने समस्या सम्बन्धि जनचेतना जगाउँने उदेश्यले बारा जिल्लाको निजगढमा पत्रकारहरु संगको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना केन्द्र टेकु काठमाडौँको सहयोग तथा हेल्थ नेपाल मिडिया प्रालिको आयोजनामा निजगढ नगरपालिकाको सभाहलमा अन्तरक्रिया कार्यक्रम भएको हो ।
नारायणी अस्पताल बिरगंजका बरिष्ठ प्रसुति तथा स्त्री रोग बिशेषज्ञ डा. मन्जु रायले पाठेघर खस्ने समस्या सम्बन्धि जानकारी गराउनु भएको थियो । उनले पाठेघरलाई मांसपेशीका डोरीजस्ता विभिन्न तन्तुले आफ्नो ठाउँमा अड्याएर राखेका हुने बताईन् । जसले कुनै पनि सङ्क्रमणले, बच्चाको जन्मको समयमा अत्यधिक बलको प्रयोगले, बच्चाको जन्मको समयमा मांसपेशीमाथि परेको जोरको प्रभाव कम हुन नपाउँदै घरेलु वा अन्य खालका जोर पर्ने काम गर्दा ती तन्तु कमजोर भएका कारणले पाठेघरमा दुष्प्रभाव पर्ने जानकारी दिईन् ।
उनले धेरै गर्भधारण र प्रसूतिले समेत पाठेघरलाई आफ्नो ठाउँमा अड्याइराख्ने डोरीजस्ता तन्तुको क्षमतामा प्रतिकूल प्रभाव पार्ने गर्दा खुकुलो भएको पाठेघर आफ्नो ठाउँबाट तल झर्ने गरेको बताईन् । महिलाहरुमा कहिलेकाहीँ त योनिमार्गबाट बाहिर निस्कने वा स्थायी रूपमा बाहिर निस्किइराख्ने हुन ‘क्ने जानकारी दिईन् ।पाठेघरको यस्तो अस्थिरताका कारण त्यसले आफ्नो ठाउँ छाड्दा त्यसको ठ्याक्कै अगाडि बसेको पिसाबको थैली र मूत्रनलीमा पनि दबाब पर्ने डा. रायले बताईन् ।
सरकारले तोकिएका अस्पतालमा निःशुल्क पाठेघर परीक्षण र उपचारको व्यवस्था मिलाएको छ । उपचार विधि त्यति जटिल पनि छैन । तर यो समस्याबारे अझै कति महिलाहरू परिवारभित्रै खुल्न सकिरहेका छैन्न । कारण, पाठेघर खस्नुलाई अझै लाजको विषय मानिन्छ, अझ कति परिवारमा त पुरुष सदस्यलाई यस्तो विषय थाहै दिनु हुन्न भन्ने धारणा रहेको डा. रायले बताईन् । ग्रामीण भेगमा धेरै सन्तान जन्माउँदा, कम अवधिमै अर्को बच्चा पाउँदा, असुरक्षित तवरले सुत्केरी हुँदा र सुत्केरी अवस्थामा आराम नपाउँदा पनि पाठेघर खस्ने समस्या रहने बताईन् । निजगढ नगरपालिकामा संचालनमा रहेको उपप्रमुख महिला प्रजनन स्वास्थ्य प्रवर्धन कार्यक्रम बारे निजगढ नगरपालिकाले घर घरमै पुगेर स्वास्थ्य परिक्षण गर्ने गरेको र हालसम्म यस कार्यक्रम मार्फत १८५३ जनाले स्वास्थ्य सेवा पाएको निजगढ नगरपालिकाकी उपप्रमुख सोममाया थिङ्गले जानकारी दिईन् ।
उनले महिलाको प्रजनन् स्वास्थ्यको मध्यनजर गरी निजगढ नगरपालिकामा उप प्रमुख महिला प्रजनन स्वास्थ्य कार्यक्रम लागु भएको जानकारी दिईन् । हरेक आर्थिक बर्षमा यसकोलागि रु १० लाख रुपैया बिनियोजन गर्ने गरेको कार्यक्रममा जानकारी दिईन् । निजगढ नगरपालिका भित्र पाठेघर खस्ने समस्या देखा परेमा लाज नमानेर चिकित्सक र घर परिवारमा जानकारी गराउनको लागि आग्रह गर्नुभयो । महिलाको प्रजन्न स्वास्थ्य सम्बन्धि सबैधानिक तथा कानुनि व्यवस्थाहरु बारे मकवानपुर जिल्ला सरकारी वकिल कार्यालयको सहायक जिल्ला न्याधिवक्ता बिष्णु कुमारी चौधरीले प्रकाश पार्नु भएको थियो । उनले देशकै महिलामा यस सम्बन्धि कानुनी ज्ञानको अभाव रहेको बताईन् ।
महिलाहरुको प्रजनन् स्वास्थ्यसँग हेल्चेक्रयाई गर्ने चित्सिक वा स्वास्थ्य संस्था पनि कार्बाहीको भागिदार हुने भएकाले लापारबाही देखिएमा कानुनी साहयता लिन अनुरोध गनुभयो । पाठेघर खस्ने सम्बन्धि पत्रकारहरु संगको अन्तरक्रिया कार्यक्रममा निजगढ नगरपालिकाकी नगर उपप्रमुख सोममाया थिङ्ग,प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला,उपप्रमुख महिला प्रजनन स्वास्थ्य प्रवर्धन कार्यक्रमको संयोजक रामप्यारी तिमल्सिना लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो ।